आघातजन्य घटना पछि सामना गर्ने उपायहरू

Coping after a traumatic event

Below is a Nepali translation of our information resource on coping after a traumatic event. You can also read our other translations.

आघातजन्य घटना भनेको के हो?

धेरै मानिसहरूले आफ्नो जीवनकालमा विभिन्न आघातजन्य घटनाहरूको अनुभव गर्छन्। इङ्ग्ल्यान्डका करिब तीनमध्ये एक जना वयस्कले आफ्नो जीवनकालमा कम्तीमा एउटा गम्भीर आघातजन्य घटना अनुभव गरेको बताएका छन्।

तल ‘सामान्यतया हुने’ आघातजन्य घटनाहरूका केही उदाहरणहरू दिइएका छन्। यी केवल उदाहरणहरू मात्र हुन् भन्ने कुरा सम्झनु महत्त्वपूर्ण छ। अन्य धेरै अनुभवहरू पनि आघातजन्य महशुस हुन सक्छन्। यदि तपाईंले भोग्नुभएको अनुभव यहाँ उल्लेख गरिएको छैन भने पनि, त्यो अनुभव मान्य र महत्त्वपूर्ण छ, र तपाईंले सहायता तथा सहयोग लिनुपर्छ।

आघातजन्य घटनाहरूमा निम्न कुराहरू पर्न सक्छन्, तर यतिमा मात्र सीमित हुँदैनन्:

  • कसैलाई मृत्यु भएको देख्नु वा आफू स्वयं मर्न लागेको जस्तो लाग्नु

  • गम्भीर रूपमा घाइते हुनु

  • यौन हिंसा भोग्नु

तपाईं निम्नमध्ये कुनै एक तरिकाबाट आघातजन्य घटनामा परेको हुन सक्नुहुन्छ:

  • प्रत्यक्ष रूपमा – यो घटना तपाईं आफैंसँग भएको हो

  • साक्षी हुनु – यो घटना अरू कसैसँग भएको तपाईंले देख्नु भयो

  • जानकारी पाउनु – उक्त घटना तपाईंको धेरै नजिकको व्यक्तिसँग भएको रहेछ भन्ने तपाईंले थाहा पाउनुभयो।

  • धम्कीपूर्ण – तपाईंले यस्तो ‘निकट जोखिम’ को घटना अनुभव गर्नुभयो, जसले गम्भीर, डरलाग्दो वा भयावह परिणाम निम्त्याउनेछ भन्ने तपाईंलाई लागेको थियो, तर त्यस्तो परिणाम भएन। उदाहरणका लागि, विमानमा भएको गम्भीर खराबी वा यस्तो घटना, जसमा तपाईं र अन्य यात्रुहरूले विमान दुर्घटनामा पर्न लागेको विश्वास गर्नुभएको थियो।

हामीलाई यो पनि थाहा छ कि सामाजिक सञ्जाल, टेलिभिजन, चलचित्र वा तस्विरहरू मार्फत आघातजन्य घटनाको सम्पर्कमा आउने केही व्यक्तिहरूले मानसिक स्वास्थ्य सम्बन्धी कठिनाइहरू अनुभव गर्न सक्छन्। उनीहरूको कामको परिणाम स्वरुप यस्तो घटना भएना विशेष हुन्छ।

केही मानिसहरूले एउटा मात्र आघातजन्य घटना अनुभव गर्छन् भने, दुर्भाग्यवश धेरै मानिसहरूले एकभन्दा बढी आघातजन्य घटनाहरू अनुभव गर्छन्।

आघातजन्य घटनाहरूको संख्या धेरै ठूलो छ, तर यहाँ केही उदाहरणहरू दिइएका छन्:

  • हिंसात्मक मृत्युको साक्षी हुनु

  • गम्भीर दुर्घटनाहरू, जस्तै सवारी दुर्घटना

  • शारीरिक वा यौनजन्य हिंसा वा दुर्व्यवहार

  • गम्भीर स्वास्थ्य सम्बन्धी समस्याहरू, सघन उपचार कक्षमा भर्ना हुनु तथा स्वास्थ्य सेवासँग सम्बन्धित अन्य आघातजन्य अनुभवहरू

  • जटिल वा जीवनलाई जोखिममा पार्ने प्रसव सम्बन्धी अनुभवहरू

  • ज्यानलाई जोखिममा पार्ने वा जीवनमा ठूलो परिवर्तन ल्याउने रोगको पहिचान हुनु

  • युद्ध र द्वन्द्व

  • आतङ्कवादी आक्रमणहरू

  • प्राकृतिक वा मानवसिर्जित विपद्‌हरू, जस्तै सुनामी वा आगलागी। मानवसिर्जित भन्नाले कुनै कुरा व्यक्ति वा मानिसहरूको समूहका कारण भएको हो र त्यो प्राकृतिक रूपमा हुँदैन भन्ने बुझिन्छ।

केही मानिसहरूको कामको प्रकृति यस्तो हुन्छ कि उनीहरूलाई कार्यस्थलमा आघातजन्य घटनाहरू अनुभव गर्ने सम्भावना बढी हुन्छ। यसमा निम्न कामहरू पर्न सक्छन्:

  • आपत्कालीन सेवा कर्मचारीहरू (जस्तै प्रहरी अधिकारी, अग्नि नियन्त्रक वा पारामेडिकहरू)

  • सामाजिक कार्यकर्ताहरू

  • स्वास्थ्यकर्मीहरू (जस्तै सघन उपचार कक्षका कर्मचारीहरू वा प्रसूतिकर्मीहरू)

  • सैनिक तथा युद्धग्रस्त क्षेत्रमा काम गर्ने अन्य पेशाकर्मी र स्वयंसेवकहरू

  • रेल चालकहरू जसले रेलको ट्र्याकमा कसैको मृत्यु भएको घटना अनुभव गर्छन्

  • आफ्नो कामको सिलसिलामा पीडादायी सामग्री हेर्नुपर्ने व्यावसायिक अनलाइन सामग्री समीक्षकहरू

आघातजन्य घटना पछि मलाई कस्तो महसुस हुनेछ?

आघातजन्य घटनाप्रति हरेक व्यक्तिको प्रतिक्रिया फरक हुन्छ, र तपाईंको प्रतिक्रिया तपाईंको आफ्नै व्यक्तिगत अनुभव अनुसार फरक हुन सक्छ। यद्यपि, आघातजन्य घटना भोगेपछि मानिसहरूले निम्न मध्ये केही कुराहरू अनुभव गर्नु सामान्य हो:

सम्झनाहरू, सपनाहरू र फ्ल्यास ब्याकहरू

तपाईंलाई उक्त घटनासँग सम्बन्धित पीडादायी सम्झनाहरू, सपनाहरू वा दुःस्वप्नहरू आउन सक्छन्। तपाईं जागा भएको बेला पनि उक्त घटना फेरि घटिरहेको जस्तो गरी पुनःअनुभव गर्न सक्नुहुन्छ। यसलाई फ्ल्यासब्याक भनिन्छ, र यो पूर्ण रूपमा वास्तविक जस्तो महसुस हुन सक्छ।

घटना सम्झँदा मन खिन्न हुन्छ

घटना भएको स्थान नजिक हुँदा वा उक्त घटनाको सम्झना गराउने वातावरणमा हुँदा तपाईं भावनात्मक रूपमा अत्यन्त विचलित महसुस गर्न सक्नुहुन्छ। यी भावनाहरू तपाईंमा कहिले उत्पन्न भए वा तिनलाई के कुराले उत्पन्न गरायो भन्ने कुरा तपाईंले सधैँ थाहा नपाउन सक्नुहुन्छ।

भावना र परिस्थितिहरूबाट टाढा रहनु

तपाईं उक्त घटनासँग सम्बन्धित सम्झनाहरू, विचारहरू, भावनाहरू, वस्तुहरू, मानिसहरू र ठाउँहरूबाट टाढा रहन सक्नुहुन्छ। यसलाई कहिलेकाहीँ ‘परिहार’ भनिन्छ।

स्मरणशक्ति गुम हुनु

तपाईंलाई उक्त घटनाका केही अंशहरू सम्झन नसक्ने हुन सक्छ। यदि तपाईंले उक्त घटनाका केही भागहरू सम्झने प्रयास गर्नुभयो भने, तपाईंलाई आफू वा आफ्नो वरिपरिको संसारबाट अलग भएको जस्तो महसुस हुन सक्छ। यसलाई विच्छेदीकरण भनिन्छ।

कठिन भावनाहरू

यसमा निम्न कुराहरू पर्न सक्छन्:

  • आफू, अरू मानिसहरू वा संसारका बारेमा नकारात्मक विचारहरू

  • जे भयो त्यसका लागि आफूलाई वा अरूलाई दोष दिनु

  • तीव्र डर, चिन्ता, आत्तिने अवस्था, भय, रिस, अपराधबोध वा लज्जा। तपाईंलाई अरू मानिसहरूसँग वा आफैंसँग रिस उठ्न सक्छ, तपाईं वा उनीहरूले कुनै गल्ती नगरेको भए पनि।

  • अरूप्रति खुसी, सन्तुष्टि वा प्रेमको भावना महसुस गर्न निकै कठिन हुनु

तपाईंको व्यवहारमा परिवर्तनहरू

यसमा निम्न कुराहरू पर्न सक्छन्:

  • पहिले रमाइलो लाग्ने कुराहरू नगर्नु वा त्यसमा रुचि नराख्नु

  • अरू मानिसहरूबाट अलग्गिएको र टाढा भएको महसुस हुनु

  • आवेगपूर्ण रूपमा वा जोखिमपूर्ण वा आत्म-विनाशकारी तरिकाले कार्य गर्ने। उदाहरणका लागि, सम्भावित खतरनाक वा हिंसात्मक वातावरणमा जानु

  • मानिसहरू वा चीजहरू प्रति रिसाउनु र आक्रामक हुनु

  • अत्यधिक सतर्क हुनु, 'सतर्क रहनु' वा आवाज वा अचानक चालहरूबाट सजिलै चकित हुनु।

यीमध्ये केही लक्षणहरू आघातपछिको तनाव विकार वा जटिल आघातपछिको तनाव विकारमा पनि देखा पर्न सक्छन्। यद्यपि, यी लक्षणहरू देखिँदैमा कुनै व्यक्तिलाई आघातपछिको तनाव विकार वा जटिल आघातपछिको तनाव विकार भएको हो भन्ने स्वतः निष्कर्ष निकाल्न मिल्दैन। यो कुरा बुझ्न निकै महत्त्वपूर्ण छ कि कुनै आघातजन्य घटना अनुभव गर्ने अधिकांश मानिसमा आघातपछिको तनाव विकार विकास हुँदैन। वास्तवमा, कुनै आघातजन्य घटना अनुभव गर्ने अधिकांश मानिसमा समय बित्दै जाँदा त्यसका नकारात्मक प्रभावहरू हराउँदै जान्छन्।

यी भावनाहरू हराउन कति समय लाग्छ?

हामी सबै एक अर्का भन्दा फरक भएकाले, कुनै आघातजन्य घटना पछि निको हुन र पुनः सामान्य अवस्थामा फर्किन कति समय लाग्छ भन्ने निश्चित समयसीमा हुँदैन। कुनै आघातजनक घटनाबाट पूर्ण रूपमा निको हुन केही दिन, केही हप्ता, केही महिना वा केही वर्षसम्म पनि लाग्न सक्छ। तपाईं निको हुँदै जाँदा आफ्ना कठिन भावनाहरू आउने र जाने भइरहेका छन् भन्ने पनि अनुभव गर्न सक्नुहुन्छ।

यदि एक महिनापछि पनि तपाईंले केही मानसिक पीडा अनुभव गरिरहनुभएको छ, तर अवस्था बिस्तारै सुधार हुँदै गइरहेको छ भने, तपाईंको अवस्था अझ राम्रो हुने र उपचारको आवश्यकता नपर्ने सम्भावना धेरै हुन्छ।

यद्यपि, यदि एक महिनापछि पनि तपाईंले अनुभव गरिरहेको गम्भीर मानसिक पीडामा कुनै सुधार आएको छैन, वा तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि त्यस्तो अवस्था कायमै छ भने, तपाईंलाई थप सहयोगको आवश्यकता पर्न सक्छ। यसले तपाईंमा आघातपछिको तनाव विकारका लक्षणहरू अनुभव गरिरहनु भएको सङ्केत गर्दछ ।

मैले कुनै आघातजन्य घटना अनुभव गरेको छु भने मैले के गर्नुपर्छ?

आघातजन्य घटना अनुभव गरेपछि तपाईंले गर्नुपर्ने केही कुराहरू यहाँ दिइएका छन्। तपाईंले यी सबै कुराहरु एकैपटक गर्नुपर्दैन।

आफूलाई समय दिनुहोस्

आघातजन्य घटनाबाट निको हुन समय लाग्न सक्छ। तपाईंले के भएको हो भनेर स्वीकार गर्न वा त्यस घटनापछि त्यससँगै जीवन बिताउन सिक्न केही समय लाग्न सक्छ। यदि कसैको मृत्यु भएको छ वा तपाईंका लागि महत्त्वपूर्ण कुनै कुरा गुमाउनुभएको छ भने, तपाईंलाई त्यसको शोक मनाउन पनि समय चाहिन सक्छ। तुरुन्तै राम्रो महसुस गर्न आफूमाथि दबाब नदिनुहोस्।

घटनाबारे कुरा गर्नुहोस्

आघातजन्य घटना अनुभव गरेपछि तपाईंलाई उक्त घटनाको सम्झना गराउने कुराहरूबाट टाढा रहन र के भएको थियो भन्नेबारे कुरा नगर्न मन लाग्न सक्छ। यद्यपि, अनुसन्धानले देखाएको छ कि उक्त घटनाबारे र आफ्ना भावनाहरूबारे कुरा गर्नाले तपाईंलाई अझ बढी मानसिक रूपमा पुनरुत्थानशील बन्न मद्दत गर्न सक्छ। सम्झना र भावनाहरूबाट टाढा रहनाले मानिसलाई झन् नराम्रो महसुस गराउन सक्छ भन्ने देखिएको छ। सरल रूपमा भन्नुपर्दा, तपाईंले यस्ता कुराहरूबाट सकेसम्म टाढा भाग्न खोज्नु हुँदैन।

तपाईंजस्तै अनुभवबाट गुज्रिएका अन्य मानिसहरूसँग कुरा गर्नुहोस्

तपाईंले जस्तै आघातजन्य घटना अनुभव गरेका वा यस्तै प्रकारका अनुभवबाट गुज्रिएका अन्य मानिसहरूसँग कुरा गर्दा तपाईंलाई सहयोग मिल्न सक्छ। यद्यपि, मानिसहरू समान प्रकारका घटनाबाट फरक–फरक तरिकाले निको हुन्छन् र प्रतिक्रिया जनाउँछन्, र प्रतिक्रिया जनाउने कुनै पनि तरिका सही वा गलत हुँदैन। आफ्नो निको हुने प्रक्रियालाई अरू कसैको निको हुने प्रक्रियासँग तुलना नगर्ने प्रयास गर्नुहोस्। यदि तपाईंलाई यस घटनाबाट प्रभावित भएका अरूलाई सहयोग गर्न सक्ने महसुस हुन्छ भने, त्यसो गर्नु पनि उपयोगी हुन सक्छ।

यसका लागि, तपाईंले जस्तै अनुभवबाट गुज्रिएका मानिसहरूसँग काम गर्ने कुनै परोपकारी संस्थाको खोजी गर्न सक्नुहुन्छ। तिनीहरूसँग सहकर्मी सहयोगका अवसरहरू वा सहयोग समूहहरू छन् कि छैनन् भनेर सोध्नुहोस्। हामीले यस सामग्रीको अन्त्यमा तपाईंका लागि उपयोगी हुन सक्ने केही परोपकारी संस्थाहरूको सुझाव दिएका छौँ।

सहयोग माग्नुहोस्

साथीभाइ, परिवार वा आफूले विश्वास गर्ने कसैबाट सहयोग माग्दा आघातजन्य घटना अनुभव गरेपछि त्यसको सामना गर्न तपाईंलाई अझ राम्रोसँग मद्दत मिल्न सक्छ। उनीहरूले तपाईंलाई भावनात्मक सहयोग गर्न, व्यावहारिक कामहरूमा मद्दत गर्न वा सामान्य रूपमा गरिने कामहरू गर्दै तपाईंसँग केही समय बिताउन सक्छन्।

विश्वासिला मानिसहरूसँग सम्पर्कमा रहिरहने प्रयास गर्नुहोस्

अन्य मानिसहरूको साथमा रहँदा आघातजन्य घटना अनुभव गरेपछि मानसिक स्वास्थ्यमा समस्या उत्पन्न हुने सम्भावना कम हुन्छ भन्ने देखिएको छ।

यदि तपाईं एक्लै बस्नुहुन्छ भने, आघातजन्य घटना अनुभव गरेपछि परिवार वा नजिकको साथीसँग बढी समय बिताउने प्रयास गर्नुहोस्। तपाईंले अस्थायी रूपमा साथी वा परिवारसँगै बस्ने विचार पनि गर्न सक्नुहुन्छ, यद्यपि यो सधैँ सम्भव नहुन सक्छ। यदि तपाईं मानिसहरूसँग प्रत्यक्ष रूपमा समय बिताउन सक्नुहुन्न भने, फोन वा दृश्य कुराकानीमार्फत उनीहरूसँग सम्पर्कमा रहिरहने प्रयास गर्नुहोस्।

यदि तपाईंलाई घटनाबारे सोचाइ नआओस् भनेर एक्लै बस्नै नसक्ने अवस्था छ भने, कुनै मानसिक स्वास्थ्य विशेषज्ञसँग कुरा गर्ने विचार गर्नुहोस्।

आफ्नो दैनिक दिनचर्यालाई निरन्तरता दिनुहोस्

आघातजन्य घटना हुनुअघिको जस्तै दैनिक दिनचर्यामा फर्किन केही समय लाग्न सक्छ। यद्यपि, सुरुमा गाह्रो महसुस भए पनि सकेसम्म आफ्नो पहिलेको दैनिक दिनचर्यालाई निरन्तरता दिने प्रयास गर्नुहोस्।

उदाहरणका लागि, घटना घटेपछि तपाईंको खानपान र व्यायाम गर्ने बानीमा परिवर्तन आउन सक्छ र तपाईंलाई निदाउन गाह्रो हुन सक्छ। यी परिवर्तनहरूले तपाईंलाई अस्वस्थ, थकित वा भोक लागेको महसुस गराउन सक्छन्, जसले तपाईंको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। यदि सम्भव छ भने, नियमित रूपमा खाना खाने, व्यायाम गर्ने र पर्याप्त निद्रा लिने प्रयास गर्नुहोस्। यसले तपाईंको मानसिक स्वास्थ्यलाई राम्रो अवस्थामा राख्न मद्दत गर्न सक्छ। थप जानकारीका लागि हाम्रो राम्रोसँग सुत्ने सम्बन्धी सामग्री हेर्नुहोस्।

आफूलाई कस्तो महसुस भइरहेको छ भन्ने कुरामा ध्यान दिनुहोस्

आघातजन्य घटना भएको पहिलो केही महिनासम्म तपाईंलाई आफूलाई कस्तो महसुस भइरहेको छ भन्ने कुरामा ध्यान दिने चाहना हुन सक्छ। यदि तपाईंलाई आफूमा सुधार भइरहेको जस्तो महसुस हुँदैन वा अवस्था झन् बिग्रँदै गएको महसुस हुन थाल्छ भने, आफ्नो चिकित्सकसँग कुरा गर्नुहोस्। आफ्नो व्यवहारमा पनि ध्यान दिनुहोस्। यदि घटनापछि तपाईंको दैनिक दिनचर्यामा धेरै परिवर्तन आएको छ (उदाहरणका लागि, यदि तपाईंले सामाजिक रूपमा घुलमिल हुन छोड्नुभएको छ भने), कुनै मानसिक स्वास्थ्य विशेषज्ञसँग कुरा गर्नु उपयोगी हुन सक्छ।

रोजगारदाताबाट सहयोग माग्नुहोस्

यदि तपाईंले आफ्नो कामको क्रममा आघातजन्य घटना अनुभव गर्नुभएको हो भने, तपाईंलाई सहयोग गर्न तपाईंको कार्यस्थलमा सहयोगका व्यवस्था उपलब्ध हुन सक्छन्। यदि तपाईंले कामबाहिर आघातजन्य घटना अनुभव गर्नुभएको हो भने, के भएको हो भनेर आफ्नो रोजगारदातालाई जानकारी गराउने विचार गर्न सक्नुहुन्छ। यसले तपाईंलाई सहयोग गर्ने र तपाईंलाई कस्तो महसुस भइरहेको हुन सक्छ भन्ने कुरा बुझ्ने अवसर उनीहरूलाई दिनेछ।

तपाईंले आफ्नो कार्यस्थलमा आवश्यकता अनुसार उचित परिवर्तनहरू गरिदिन पनि आफ्नो रोजगारदातासँग अनुरोध गर्न सक्नुहुन्छ। उदाहरणका लागि, तपाईंको कामले तपाईंलाई थप आघात वा अत्यधिक तनावको सामना गर्न नपर्ने व्यवस्था मिलाउने वा तपाईंको काम गर्ने समयलाई आवश्यकता अनुसार परिवर्तन गर्ने। यस सामग्रीमा पछि दिइएको रोजगारदाताहरूका लागि खण्ड हेर्नुहोस्।

आफ्नो ख्याल राख्नुहोस्

आघातजन्य घटना भएपछि मानिसहरूबाट दुर्घटना हुने सम्भावना बढी हुन्छ। यो सम्भवतः किनभने आघातजन्य घटना अनुभव गरेपछि ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ, सानोतिनो कुराले पनि सजिलै झस्किन सकिन्छ र शरीरमा तनाव महसुस हुन सक्छ। घरमा र सवारी चलाउँदा विशेष सावधानी अपनाउनुहोस्। आघातजनक घटना पछि त्यसको सामना गर्न मदिरा वा लागूपदार्थको प्रयोग नगर्नुहोस्। यद्यपि यसले छोटो अवधिमा तपाईंलाई राम्रो महसुस गराउन सक्छ, दीर्घकालमा यसले निको हुने प्रक्रियालाई अझ कठिन बनाउन सक्छ।

घटनाबारे धेरै सञ्चारमाध्यमका सामग्रीहरू नहेर्नुहोस्

आघातजन्य घटना अनुभव गरेपछि सामाजिक सञ्जाल वा समाचारमा त्यस घटनाबारे धेरै कुरा हेर्न वा पढ्न मन लाग्न सक्छ। यदि घटना त्यतिबेला धेरै सार्वजनिक भएको थियो भने, यसबाट टाढा रहन अझ गाह्रो हुन सक्छ। उदाहरणका लागि, आतङ्कवादी आक्रमण वा प्राकृतिक प्रकोपहरू। यद्यपि, घटनासँग सम्बन्धित धेरै सञ्चारमाध्यमका सामग्रीहरू हेर्न, सुन्न वा पढ्नबाट जोगिनु राम्रो हुन्छ, विशेषगरी त्यसले तपाईंलाई मानसिक पीडा गराउँछ भने।

सामाजिक सञ्जालमा, तपाईंले उक्त घटनासँग सम्बन्धित शब्दहरूलाई ‘म्यूट’ गर्न सक्नुहुन्छ। वा, तपाईंले सामाजिक सञ्जालका एपहरूमा बिताउने समयको सीमा तोक्न सक्नुहुन्छ।

विशेषज्ञ सहयोग लिनेबारे विचार गर्नुहोस्

कुनै आघातजन्य घटना लगत्तै तपाईंले तुरुन्तै मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनैपर्छ भन्ने छैन। सुरुमा केही समय परिस्थिति वा समस्या आफैं सुध्रिँदै जान्छ कि भनेर हेर्नु पनि उपयोगी हुन सक्छ।

तर, तपाईं लगातार धेरै तनाव, छटपटी वा पीडामा हुनुहुन्छ भने, आफूलाई के भएको हो र के महसुस भइरहेको छ भनी कुनै विशेषज्ञसँग खुलेर कुरा गर्दा तपाईंलाई राहत मिल्न सक्छ। विशेषगरी यदि तपाईंसँग खुलेर आफ्ना कुरा राख्न मिल्ने कुनै साथी वा परिवारको सदस्य हुनुहुन्न भने, यस्तो गर्नु अझ सहयोगी हुन सक्छ।

तपाईंले आफ्नो GP लाई कुराकानीमार्फत गरिने टकिङ थेरापीको लागि सिफारिस गरिदिन भन्न सक्नुहुन्छ, वा तपाईं आफैंले पनि आफ्नो नाम सिफारिस गर्न सक्नुहुन्छ। अथवा, तपाईं आफैं निजी स्तरमा टकिङ थेरापी सेवा लिने विकल्प पनि रोज्न सक्नुहुन्छ। निजी थेरापी लिँदा, आफूले रोजेको थेरापिस्टसँग मानसिक आघात भोगेका मानिसहरूलाई मद्दत गर्न आवश्यक पर्ने उपयुक्त योग्यता र अनुभव छ भन्ने कुरा पक्का गर्नुहोस्।

मैले कहिले विशेषज्ञको सहयोग लिनुपर्छ?

गहिरो चोट पुर्‍याउने अप्रिय घटनाहरूसँग जुध्ने वा त्यसलाई झेल्ने तरिका हरेक व्यक्तिको आ-आफ्नै हुन्छ। परिवार, साथीभाइ र आफ्नो कार्यक्षेत्रको साथ-सहयोग पाएर धेरैजसो मानिसहरू समयसँगै मानसिक आघात वा पीडादायी घटनाबाट बिस्तारै बाहिर आउन सक्छन्।

कुनै मानसिक आघात वा अप्रिय घटनाबाट सामान्य अवस्थामा फर्किसकेपछि पनि तपाईंले सायद त्यसलाई पूरै बिर्सन सक्नुहुन्न। त्यस घटनालाई सम्झिँदा कहिलेकाहीँ फेरि नकारात्मक भावनाहरू आउनु वा मन दुख्नु स्वाभाविक हुन सक्छ। तर, यस्ता भावनाहरू तपाईंको जीवन जिउने उत्साह नै खोस्नेगरी अनियन्त्रित वा भारी हुनुहुँदैन।

यदि तलका समस्याहरू देखिएका छन् भने तपाईंले आफ्नो GP वा अन्य स्वास्थ्यकर्मीसँग सहयोग माग्नुपर्छ:

  • तपाईंका लक्षणहरूले तपाईंको दैनिक जीवनशैली र सहजतामा असर गरिरहेका छन्, र

  • ती लक्षणहरूमा कुनै सुधार भइरहेको जस्तो देखिँदैन

यदि एक महिना बितिसक्दा पनि तपाईंका लक्षणहरू धेरै नै गम्भीर छन् र तिनले तपाईंको दैनिक जीवनमा ठूलो असर पारिरहेका छन् भने, तपाईंले आफ्नो GP सँग कुरा गर्नुपर्छ।

यदि तपाईंका लक्षणहरू त्यति धेरै गम्भीर छैनन्, तर तीन महिना भन्दा बढी समयदेखि सताइरहेको छ र कम हुने कुनै छाँटकाँट देखिँदैन भने, तपाईंले आफ्नो GP सँग कुरा गर्नुपर्छ।

मलाई PTSD भयो भने के गर्ने?

कुनै आघातजन्य घटना व्यहोरेपछि धेरैजसो मानिसहरूलाई पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर (आघातपछिको तनाव, PTSD) हुँदैन, तर केही व्यक्तिहरूमा भने यो समस्या देखिन सक्छ।

PTSD एउटा गम्भीर मानसिक स्वास्थ्य समस्या हो, र यो मान्छे कमजोर भएर हुने कुरा होइन। बरु, अत्यधिक असह्य र गहिरो चोट पुर्‍याउने कुनै भयानक घटना भोगेपछि यस्तो प्रतिक्रिया देखिनु एकदमै स्वाभाविक हो।

PTSD भएका व्यक्तिहरूमा सुरुवातमै निकै कडा लक्षणहरू देखिन सक्छन्, र मनमा आउने छटपटी, डर र पीडादायी कुराहरू समय बित्दैमा आफैं ठीक हुँदैनन्। यी लक्षणहरूले व्यक्तिलाई पहिलेको जस्तो सामान्य रूपमा आफ्नो जीवन बिताउन निकै गाह्रो बनाउन सक्छ।

तपाईंले हाम्रो PTSD स्रोत सामग्री मा गई PTSD का लक्षण, कारण र उपचारका विधिहरूबारे थप विस्तृत जानकारी पाउन सक्नुहुन्छ।

PTSD कति सामान्य हो?

इङ्गल्याण्डमा गरिएको एउटा राष्ट्रिय सर्वेक्षण अनुसार प्रत्येक २० जना वयस्कमध्ये एकजनामा PTSD को परिक्षण पोजिटिभ आएको थियो। ‘स्क्रिन्ड पोजिटिभ’ को अर्थ सर्वेक्षणमा समावेश व्यक्तिहरूले PTSD लक्षणहरू जाँच गर्न तयार पारिएको मानसिक स्वास्थ्य सम्बन्धी प्रश्नावली भरेका थिए। उक्त प्रश्नावलीमा उनीहरूले दिएका उत्तरहरूले उनीहरूमा PTSD भएको हुनसक्ने उच्च सम्भावना देखाएका थिए।

कस्तो विशेषज्ञ सहयोग पाउन सकिन्छ?

तपाईंले कुनै मानसिक आघात पुर्‍याउने घटना भोग्नुभएको छ र त्यसका कारण निरन्तर समस्याहरू भइरहेका छन्, अथवा तपाईंलाई PTSD नै भएको छ भने, तपाईंको GP ले तपाईंलाई मानसिक स्वास्थ्य विशेषज्ञकहाँ सिफारिस गर्न सक्नुहुन्छ। यस्ता विशेषज्ञहरू मानसिक आघातसँग जुध्न मानिसहरूलाई सहयोग गर्ने काममा दक्षता हासिल गरेका हुन्छन्। उदाहरणका लागि, मानसिक आघातमा केन्द्रित मनोवैज्ञानिक उपचार प्रदान गर्ने मनोचिकित्सक वा मनोपरामर्शदाता (साइकोथेरापिस्ट)।

PTSD का लागि धेरै किसिमका फरक-फरक उपचार विधिहरू उपलब्ध छन्। यी उपचारहरूभित्र कुराकानीमार्फत गरिने मनोवैज्ञानिक उपचारहरू (टकिङ थेरापी) पर्दछन्, जस्तै:

  • मानसिक आघात-केन्द्रित संज्ञानात्मक व्यवहार थेरापी (TF-CBT)

  • र आँखाको चालमार्फत संवेदनशीलता घटाउने र पुनःप्रशोधन गर्ने विधि (EMDR)।

तपाईंलाई तनाव कम गर्ने औषधि (एन्टिडिप्रेसेन्ट) पनि सिफारिस गरिन सक्छ:

  • मनोवैज्ञानिक परामर्शसँगै सहायक उपचारका रूपमा

  • मनोवैज्ञानिक परामर्शको सट्टामा

  • यदि तपाईं परामर्शका लागि वेटिङमा हुनुहुन्छ, वा परामर्श उपलब्ध हुन सकेको छैन भने

  • यदि मनोवैज्ञानिक परामर्शले तपाईंलाई काम गरिरहेको छैन भने।

तपाईंले यी सबै उपचार विधिहरूबारे थप विस्तृत जानकारी हाम्रो PTSD स्रोत सामग्रीबाट प्राप्त गर्न सक्नुहुन्छ।

मानसिक आघातको असर कम गर्न डाक्टरले औषधि दिन सक्छन् त?

मानसिक आघात पछि कहिलेकाहीँ औषधि सहयोगी साबित हुन सक्छ। यद्यपि, तपाईंले यसबारे आफ्नो डाक्टरसँग खुलेर कुरा गर्नुपर्छ। डाक्टरले आफूले दिएको कुनै पनि औषधिले तपाईंलाई फाइदा गरिरहेको छ कि छैन भनेर जाँच्नुपर्छ, र तपाईंका लक्षणहरूमा कत्तिको सुधार भइरहेको छ भनी नियमित रूपमा फलोअप गर्नुपर्छ।

निद्रा लगाउने औषधिहरू

यदि कुनै आघातजन्य घटनापछि तपाईंलाई निदाउन निकै गाह्रो भइरहेको छ भने, डाक्टरले निद्रा लाग्न सघाउने औषधि लेखिदिन सक्नुहुन्छ। उदाहरणका लागि, zopiclone (जोपिक्लोन) वा zolpidem (जोल्पिडेम)। सामान्यतया, यस्ता औषधिहरू थोरै समयका लागि मात्र दिइन्छ; किनभने औषधी दिनु समस्याको दीर्घकालीन समाधान होइन र औषधीको लत पनि लाग्न सक्छ। तपाईंले हाम्रो राम्रो निद्रासम्बन्धी स्रोत सामग्रीमा गई निद्राका औषधिहरूबारे थप जानकारी लिन सक्नुहुन्छ।

अन्य स्वास्थ्य समस्याहरूका लागि औषधि

यदि तपाईंलाई PTSD वा अन्य कुनै मानसिक स्वास्थ्य समस्या देखिएमा, तपाईंलाई अन्य औषधिहरू पनि सिफारिस गरिन सक्छ। उदाहरणका लागि, यदि तपाईंलाई डिप्रेसन भयो भने, डिप्रेसन कम गर्ने औषधिहरू (एन्टिडिप्रेसेन्ट) दिन सकिन्छ।

मानसिक आघात (ट्रमा) भोगेका व्यक्तिलाई म कसरी सहयोग गर्न सक्छु?

तपाईंले गर्न सक्ने कुराहरू

मानसिक आघातजन्य अनुभवबाट गुज्रिरहेका व्यक्तिलाई सहयोग गर्न तल उल्लेख गरिएका उपायहरू उपयोगी हुन सक्छन्:

साथमा रहनुहोस्

उनीहरूसँग समय बिताउन चाहेको बताउनुहोस्। उनीहरू तपाईंसँग समय बिताउन चाहँदैनन् भने पनि ठिक छ, उनीहरूलाई मन बदलेर भेट्न मन लागेमा आफू जुनसुकै बेला भेट्न तयार छु भनेर आश्वस्त पार्नुहोस्। उनीहरूलाई कुनै पनि किसिमको दबाब दिनु त हुँदैन, तर उनीहरू तपाईंको सहयोग लिन तयार नहुन्जेल तपाईंले पटक-पटक सोधिरहनुपर्ने हुन सक्छ।

सुन्नुहोस्

उनीहरू आफूलाई भएको कुरा बताउन अफ्ठ्यारो महसुस गर्छन् भने कुरा खोल्न वा सुनाउन कुनै करकाप नगर्नुहोस्। तर यदि उनीहरू आफैं कुरा गर्न चाहन्छन् भने, उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने प्रयास गर्नुहोस्; बीचमा कुरा नकाट्नुहोस् र आफ्ना व्यक्तिगत अनुभवहरू सुनाउन नथाल्नुहोस्। राम्रै सोचले आफ्नो कुरा सुनाइएको भए पनि, यसले उल्टै उनीहरूको भावनाको कदर नभएको जस्तो भान पर्न सक्छ।

सामान्य प्रश्नहरू सोध्नुहोस्:

यदि तपाईंले कुनै प्रश्न सोध्नै परेमा, ती प्रश्नहरू सामान्य र कसैलाई दोष वा पूर्वाग्रह नदेखाउने खालका हुनुपर्छ। उदाहरणका लागि, तपाईंले यसरी सोध्न सक्नुहुन्छ: ‘के अरू कसैलाई यसबारे थाहा छ?’ अथवा ‘तपाईंलाई थप मद्दत जुटाउन मैले केही सघाउन सक्छु कि?’

व्यावहारिक सहयोगको प्रस्ताव गर्नुहोस्

यस्तो अवस्थामा उनीहरूलाई आफ्नै ख्याल राख्न र दैनिक कामहरू सामान्य रूपमा चलाउन धौ-धौ भइरहेको हुन सक्छ। तपाईंले घर सफा गर्न सघाउने अथवा खाना पकाइदिने जस्ता दैनिक काममा हात बाँड्न सक्नुहुन्छ।

आफ्नो पनि ख्याल राख्नुहोस्

अरू कसैको हेरचाह गर्दै गर्दा तपाईंले आफ्नो स्वास्थ्य र मानसिक शान्तिलाई पनि उत्तिकै ध्यान दिनुपर्छ। आघातजन्य घटना भोगेका व्यक्तिलाई साथ वा सहारा दिनु भावनात्मक रूपमा निकै कठिन र चुनौतीपूर्ण हुन सक्छ।

गर्न नहुने कुराहरू

तपाईंलाई कस्तो महसुस भइरहेको छ मलाई थाहा छ भन्नु हुँदैन

तपाईं आफैंले पनि त्यस्तै खालको कुनै घटना भोग्नुभएको हुनसक्छ, तैपनि एउटै परिस्थितिमा पनि हरेक मानिसको अनुभव र महसुस गर्ने तरिका बिल्कुलै फरक हुन्छ। अरूसँग तुलना गरिदिनु राम्रो होइन; यसले मद्दत गर्नुको साटो झन् अप्ठ्यारो पार्छ। ध्यान राख्नुहोस्, कसैले भोगेको घटनाबारे तपाईंलाई धेरै कुरा थाहा छ जस्तो लागे पनि, उनीहरूले तपाईंलाई सबै कुरा नबताएका हुन सक्छन्। यही कारणले गर्दा, तपाईंले गरिरहनुभएको तुलना सही वा सटिक नहुन सक्छ।

"बाँच्नुभयो/बाँच्यौ, वा चोटपटक लागेन, तिमी त भाग्यमानी हौ" भन्नु हुँदैन

यस्तो आघातजन्य घटनाबाट गुज्रिएका व्यक्तिहरूले आफ्नो अवस्थालाई कहिल्यै भाग्यमानी ठान्दैनन्। मानिसहरूले कहिलेकाहीँ यस्ता कुराहरूमा आफूलाई दोषी महसुस गर्न सक्छन्:

  • अरूको मृत्यु हुँदा आफू भने बाँचेकोमा

  • आफूलाई कुनै चोटपटक नलागेकोमा

  • वा अरूलाई जति गम्भीर चोट आफूलाई नलागेकोमा।

"तपाईं त भाग्यमानी हुनुहुँदो रहेछ" भनिदिँदा उनीहरूले आफूलाई अरूसँग दाँज्न वा तुलना गर्न थाल्ने सम्भावना झन् बढ्न सक्छ। वा, मलाई त केही पनि नराम्रो भएको थिएन, तैपनि म किन यसरी कमजोर भइरहेको छु? भनेर उनीहरू आफ्नै अवस्थाप्रति लज्जित हुन सक्छन्।

उनीहरूको अनुभवलाई सानो बनाईदिएर

उनीहरूलाई सान्त्वना दिने वा मन हलुका बनाइदिने नियतले नै भए पनि, "यो भन्दा नराम्रो पनि त हुन सक्थ्यो नि" भनेर कहिल्यै नभन्नुहोस्। यसो गर्दा उनीहरूलाई आफ्नो अनुभव जायज होइन रहेछ वा आफूले अनाहकमा बढी नाटक गरिरहेको छु जस्तो महसुस हुन सक्छ।

सल्लाहहरू दिएर

विगतमा तपाईंलाई आफैं त्यस्तै समस्या पर्दा कुनै तरिकाले फाइदा पुर्‍याएको थियो भने पनि, उनीहरूलाई त्यही कुरा अपनाउन सुझाव नदिनुहोस्। सबै मानिसहरू फरक-फरक हुन्छन्, र तपाईंले दिन लाग्नुभएको सल्लाह उनीहरूले पहिले नै अपनाएर हेरिसकेका पनि हुन सक्छन्। तपाईंले कुरा गरिरहनुभएको व्यक्तिले सल्लाह-सुझाव नै खोजिरहेको हो कि होइन भन्नेमा द्विविधा छ भने, उनीहरूलाई सोध्नुहोस्।

म कसरी सहयोगी रोजगारदाता बन्न सक्छु?

कुनै-कुनै बेला काम गरिरहेकै ठाउँमा पनि मानिसहरूले आघातजन्य घटनाहरू भोग्नुपर्ने हुन सक्छ। अघि भनिए जस्तै, कतिपय कामहरू यस्ता हुन्छन् जहाँ मानिसहरूले आघातजन्य घटनाहरू सामना गर्नुपर्ने जोखिम धेरै रहन्छ। कार्यस्थल बाहिर मानसिक आघात भोगेका मानिसहरूका लागि पनि, कार्यथलोको राम्रो र सहयोगी वातावरणले उनीहरूलाई त्यो पीडाबाट सम्हालिँदै सामान्य जीवनमा फर्किन निकै भरथेग गर्छ।

रोजगारदाताको हैसियतमा, यदि तपाईंको मातहतमा काम गर्ने एक वा धेरै जना कर्मचारीहरू आघातजन्य घटनाबाट गुज्रिएका छन् भने, उनीहरूको भरथेग गर्न तपाईंले निम्न कदमहरू चाल्न सक्नुहुन्छ:

घटेको घटनाबारे खुलेर कुरा गर्ने

कार्यथलोमै आघातजन्य घटना भएको हो भने, त्यसबारे खुलेर कुराकानी गर्दा मद्दत पुग्न सक्छ। आफ्ना कर्मचारीहरूलाई अप्ठ्यारो परेको खण्डमा उनीहरूले कहाँ सम्पर्क गरेर मद्दत लिन सक्छन् भन्ने बारे पहिल्यै स्पष्ट बताइदिँदा निकै राहत मिल्छ। उदाहरणका लागि, आफ्ना GP बाट, अथवा यदि तपाईंको कार्यस्थलमा व्यवस्था छ भने कार्यालयकै थेरापी वा परामर्श सेवाबाट।

हालचाल बुझ्ने

तपाईंका मातहतमा काम गर्ने कर्मचारीहरूसँग उनीहरूलाई कस्तो महसुस भइरहेको छ भनेर कुराकानी गर्नुहोस्। यसो गर्दा उनीहरूले आवश्यक सहयोग पाएका छन् कि छैनन् भनी थाहा पाउन र उनीहरूको बानीव्यहोरा वा स्वभावमा आएका परिवर्तनहरू समयमै ठम्याउन तपाईंलाई मद्दत पुग्छ। यदि कोही समस्यामा छ भन्ने शङ्का लाग्छ भने, "म ठीकै छु" भनेर उसले दिएको जवाफ सिधै पत्याइहाल्ने नगर्नुहोस्। विशेष गरी तब, जब व्यक्तिको हाउभाउ वा व्यवहारले नै उनीहरू ठीक छैनन् भन्ने प्रष्ट देखाइरहेको हुन्छ।

एकअर्कालाई साथ दिने वातावरण निर्माण गर्ने

टिमभित्र आपसी मेलमिलाप र विश्वास बढाउनाले समग्र कार्यालयकै वातावरणलाई सकारात्मक र ऊर्जावान् बनाउन सघाउँछ। आफ्ना कर्मचारीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी कार्यशालाहरूमा भाग लिन वा कार्यालयले उपलब्ध गराएका कुनै पनि सहयोग संयन्त्र तथा सुविधाहरू प्रयोग गर्न प्रोत्साहन गर्नुहोस्।

उचित र व्यावहारिक हेरफेर अपनाउने

कामको सिलसिलामा के-कस्ता उचित हेरफेर वा सहुलियत मिलाइदिए उनीहरूलाई बढी सहज र आरामदायी हुन्छ भनी आफ्ना कर्मचारीसँग कुराकानी गरेर बुझ्नुहोस्। यसमा कामको अवधिमा लचिलोपना मिलाइदिने अथवा काम गर्ने ठाउँको वातावरणमा सानातिना हेरफेर गरिदिने जस्ता कुराहरू हुन सक्छन्। उनीहरूलाई के कुराले सहयोग पुग्छ भनी आफैं अन्दाज लगाउनुको सट्टा, सधैं आफ्ना कर्मचारीलाई नै उनीहरूको आवश्यकता के हो भनेर सोध्नुहोस्।

गोपनीयता कायम राख्नुहोस्

यदि कर्मचारीको स्पष्ट अनुमति वा सहमति छैन भने, उनीहरूले भोगेको आघातजन्य घटनाबारे कुनै पनि जानकारी अरू कसैसँग नबाँड्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। कुरा गोप्य राखिदिँदा कार्यस्थलमा सुरक्षित र एकअर्कालाई भरथेग गर्ने खालको वातावरण बनाउन ठूलो मद्दत पुग्छ।

माथि उल्लेख गरिएका सबै उपायहरू अपनाउँदा कर्मचारीहरूको मन हलुका हुन गई उनीहरूको समग्र जीवन र कार्यक्षमतामा राम्रो असर पर्छ।

थप जानकारी र सहयोग

  • Coping with stress following a major incident leaflet (PDF) (ठूलो दुर्घटना वा घटनापछिको तनाव व्यवस्थापनसम्बन्धी पुस्तिका), NHS – कुनै पनि आघातजन्य घटनामा परेका अथवा त्यसबाट प्रभावित भएका मानिसहरूका लागि NHS (राष्ट्रिय स्वास्थ्य सेवा) द्वारा तयार पारिएको जानकारीमूलक पुस्तिका।

  • Overview of PTSD, NHS (PTSD को संक्षिप्त परिचय) – PTSD बारे NHS (राष्ट्रिय स्वास्थ्य सेवा) द्वारा उपलब्ध गराइएको आधारभूत जानकारी

  • Overview of complex PTSD, NHS (जटिल PTSD को संक्षिप्त परिचय) – जटिल PTSD बारे NHS (राष्ट्रिय स्वास्थ्य सेवा) द्वारा उपलब्ध गराइएको आधारभूत जानकारी

  • Coping with trauma, Mind (आघातपछिको पीडासँग जुध्ने उपायहरू, माइन्ड) – मानसिक स्वास्थ्यसम्बन्धी परोपकारी संस्था Mind द्वारा आघातबाट कसरी सम्हालिने भन्ने विषयमा तयार पारिएको जानकारी

  • PTSD, Mind – मानसिक स्वास्थ्यसम्बन्धी परोपकारी संस्था Mind द्वारा PTSD र जटिल PTSD बाट कसरी सम्हालिने भन्ने विषयमा तयार पारिएको जानकारी

  • How can friends and family help?(साथीहरु र पारिवारिक सदस्यहरुले कसरी सहयोग गर्न सक्छन्) Mind (माइन्ड) – PTSD बाट ग्रसित आफ्ना नजिकका मानिस वा चिनजानका व्यक्तिलाई कसरी सहयोग दिन सकिन्छ भन्ने विषयमा सामाजिक संस्था Mind द्वारा उपलब्ध गराइएको जानकारी

  • Useful contacts, Mind (उपयोगी सम्पर्क ठेगानाहरू, माइन्ड) – PTSD बाट प्रभावित व्यक्तिहरूलाई सहायता र परामर्श दिने अन्य परोपकारी संस्था तथा निकायहरूका सम्पर्क विवरण (लिङ्कहरू)

हेल्पलाइनहरू

  • Samaritans - Samaritans (सम्यारिटन्स) एउटा परोपकारी संस्था हो, जसले अप्ठ्यारोमा परेर आफ्ना भावनाहरू सुनाउन र सहारा पाउन चाहने जो-कोहीलाई पनि न्यानो साथ र गोपनीय भावनात्मक सहयोग सेवा प्रदान गर्दछ।

  • Shout – Shout (शाउट) बेलायत (UK) भित्र सहयोग चाहिएका जो-कोहीका लागि चौबिसै घण्टा उपलब्ध हुने निःशुल्क, पूर्ण गोप्य र भरपर्दो टेक्स्ट म्यासेज सेवा हो।

परोपकारी संस्थाहरू

PTSD वा दर्दनाक घटनाहरू भोगेका मानिसहरूलाई सहारा र परामर्श दिने केही परोपकारी संस्थाहरू यहाँ दिइएका छन्:

  • PTSD UK – PTSD बारे जनचेतना फैलाउन समर्पित बेलायतको एक परोपकारी संस्था

  • Combat Stress – भूतपूर्व सैनिकहरूको मानसिक स्वास्थ्यका लागि समर्पित बेलायतको एक परोपकारी संस्था।

  • Cruse Bereavement Care – इङ्गल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा आफ्ना प्रियजन गुमाएर शोकमा परेका व्यक्तिहरूलाई साथ दिने एक परोपकारी संस्था

  • Cruse Bereavement Care Scotland – स्कटल्याण्डमा आफ्ना प्रियजन गुमाएर शोकमा परेका व्यक्तिहरूलाई साथ दिने एक परोपकारी संस्था

Rape Crisis – यौन हिंसा र दुर्व्यवहारबाट प्रभावित भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउन बेलायतभरि तीनवटा प्रमुख रेप क्राइसिस परोपकारी संस्थाहरू सक्रिय छन्:

Victim Support – अपराध तथा आघातजन्य घटनाको सिकार भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउन बेलायतभरि तीनवटा प्रमुख भिक्टिम सपोर्ट परोपकारी संस्थाहरू सक्रिय छन्:

फरक-फरक परिस्थिति र अप्ठ्यारा अनुभवहरूबाट गुज्रिएका मानिसहरूलाई सहयोग गर्ने थुप्रै संस्थाहरू छन्, र हामीले ती सबैलाई यहाँ समेट्न सकेका छैनौं।

आभार

यो जानकारी Royal College of Psychiatrists (रोयल कलेज अफ साइकियाट्रिस्ट्स) को Public Engagement Editorial Board (सार्वजनिक सहभागिता सम्पादकीय मण्डल, PEEB) द्वारा तयार पारिएको हो। यो सामग्री तयार पार्दासम्म उपलब्ध सबैभन्दा उत्कृष्ट र भरपर्दा वैज्ञानिक तथ्यहरूका आधारमा यो तयार पारिएको हो।

यस सामग्रीलाई थप प्रभावकारी बनाउन आफ्नो प्रतिक्रिया उपलब्ध गराइदिनुभएकोमा PTSD UK प्रति हार्दिक आभार।

विशेषज्ञ सम्पादक: प्राध्यापक निल ग्रिनबर्ग

प्रत्यक्ष अनुभवी सल्लाहकारहरू: अटम फुर्ड, ब्रायन हेडन र एली वाइल्डबोर

यस सामग्रीका सम्पूर्ण स्रोत तथा सन्दर्भ सामग्रीहरू अनुरोध गरिएमा उपलब्ध गराइनेछ।

Read more to receive further information regarding a career in psychiatry